सप्तरी । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी दुई वर्षीया बालिकालाई हत्या गरी घर पछाडिको झाडीमा फालिएको अवस्थामा फेला पारिएको थियो।
घटना भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित जाहेरवाली रुबिना खातुनको घर पछाडिको झाडीमा भएको प्रहरीले जनाएको छ।
बालिकाको हत्या आरोपमा शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नं. ३ ट्राफिक बजारमा बस्ने मो. इरफानकी कान्छी श्रीमती २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन पक्राउ परेकी छन्।
प्रहरीका अनुसार पक्राउ परेकी जास्मिनले सोधपुछका क्रममा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेकी छन्। घटनापछि बालिकाकी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
