धनगढी । कैलालीमा श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ।
लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार साउन २२ गते बिहानदेखि जानकी गाउँपालिका–९ स्थित अमरावतीमा रहेको ससुरालीबाट हराएको भन्दै उनकी श्रीमती यमुना सुनारले प्रहरीमा जानकारी गराएकी थिइन्।
प्रहरीले घटनाबारे खोजतलास तथा अनुसन्धान गर्ने क्रममा यमुनाले आफ्ना प्रेमीसहित अन्य व्यक्तिको मिलेमतोमा श्रीमान् दीपकको हत्या गर्ने योजना बनाएको तथ्य खुलेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दीपकको हत्या गरी शव कर्णाली नदीमा फालिएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ ९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, लम्कीचुहा–४ की ३२ वर्षीया यमुना सुनार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।
