• Monday 5th of October 2026

मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य पाण्डेको मृत्यु


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा

रौतहट, १२ भदौ। बारामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा बिहीबार राति बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सई विमलेशकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले घाइते पाण्डेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल रेफर गरिएको थियो।

तर, बयोधा अस्पतालमा उपचारकै क्रममा राति १०ः५० बजे चिकित्सकले पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्।

पाण्डेको शव बयोधा अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ।

जसपाको युवा संगठनदेखि जनमतको केन्द्रीय सदस्यसम्म

पाण्डे लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनी यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी युवा संघमा आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय थिए।

उनी बारा क्षेत्र नम्बर ३(ख) का पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिवसमेत थिए।

पछिल्लो समय भने पाण्डे जनमत पार्टीमा आबद्ध भई केन्द्रीय सदस्यको जिम्मेवारीमा सक्रिय थिए। ३३ वर्षको उमेरमै भएको उनको निधनले राजनीतिक वृत्तमा एक सक्रिय युवा नेताको असामयिक अवसान भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖