काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि प्रार्थना गर्दै विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले आज भएका खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी दिँदै उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार रसुवा, भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। जलविद्युत् सुरुङबाट १९१ जना तथा आजको हवाई उद्धारबाट ५१७ जनाको उद्धार गरिएको उनले बताएका छन्।
नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ। हालसम्म ९९ हवाई उडान भएको प्रधानमन्त्रीको भनाइ छ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम पनि जारी रहेको छ। ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत थप ६ उडानबाट राहत सामग्री पठाइएको छ।
सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। अपर त्रिशूली हाइड्रोपावर आयोजना, रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको प्रधानमन्त्रीले बताएका छन्।
त्यस्तै, खोजी कार्यलाई तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको छ।
विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा समेत विशेष समन्वय भइरहेको जनाइएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार वा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न Emergency Control Room सञ्चालन गरेको प्रधानमन्त्रीले बताएका छन्।
भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको भन्दै प्रधानमन्त्रीले उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको स्पष्ट पारेका छन्।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी भइरहेको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ।
सडक सम्पर्क पुनःस्थापनामा पनि प्रगति भएको प्रधानमन्त्रीले बताएका छन्। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन्। काठमाडौं–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडकसमेत साना चारपाङ्ग्रे सवारीका लागि सुचारु भएको जनाइएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माण सुरु गरिएको छ भने नियमित सडक सम्पर्कका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन पहल गरिएको छ।
खानेपानी, इन्धन, स्वास्थ्य, दूरसञ्चार तथा विद्युत् सेवा पुनःस्थापनाका कामसमेत तीव्र पारिएको छ। प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको जनाइएको छ।
प्रभावित क्षेत्रको सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार तथा जलविद्युत् संरचनाको क्षति मूल्यांकनका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई Standby अवस्थामा राखिएको छ भने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ।
विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको प्रधानमन्त्रीले बताएका छन्।
प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार गर्ने काम अघि बढाइएको छ। प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package समेत तयार भइरहेको जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिएका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा उनलाई नेपाल सरकारको तर्फबाट धन्यवादसमेत दिएका छन्।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन्। उनले मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्।
