• Monday 5th of October 2026

विवाहको ४ महिनामै बाढीले बेपत्ता बनाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको शवगृह अगाडि बेपत्ता आफन्तको खोजीमा पुगेका परिवारजनको भीड बढेको छ। अस्पतालको पछिल्लो विवरणअनुसार हालसम्म २६ वटा शव ल्याइएको छ, जसमध्ये चार जनाको मात्रै पहिचान खुलेको छ।

बाढी र पहिरोपछि आफन्त बेपत्ता भएका परिवारहरू शवगृहमा पुगेर आफ्ना मान्छेको खोजी गरिरहेका छन्। उनीहरू सरकारसँग बेपत्ताको खोजी तथा पहिचानको कामलाई तीव्र बनाउन आग्रह गरिरहेका छन्।

नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरे स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर–६ बस्दै आएका राजन कोइराला पनि विगत दुई दिनदेखि आफ्नी भान्जी र अन्य आफन्तको खोजीमा त्रिवि शिक्षण अस्पताल धाइरहेका छन्।

नुवाकोटको तुप्छे बजारमा रहेको साढे तीन तले घर पहिरोले पुरिँदा कोइरालाका आफन्तहरू बेपत्ता भएका थिए। पहिरो आउँदा सासू–ससुराले भाग्न भनेपछि ज्यान जोगाएका कोइरालाकी कान्छी बहिनीकी २३ वर्षीया छोरी रोनुका अर्याल भने प्यारालाइसिस भएकी हजुरआमालाई बचाउन घरभित्र फर्किएकी थिइन्। त्यसक्रममा उनीसहित परिवारका अन्य सदस्य पहिरोमा परेका थिए।

चार महिनाअघि मात्रै विवाह भएकी रोनुका तथा उनका परिवारका सदस्य पहिरोमा परेपछि कोइराला काठमाडौँबाट नुवाकोटतर्फ पुगेका थिए। तर, बाढी र पहिरोका कारण बाटो तथा पुलहरू भत्किएकाले उनी बीचमै रोकिएका थिए।

यसैबीच धादिङको मजिमटार तथा देवघाटभन्दा तल एक युवतीको शव फेला परेको खबर पाएपछि कोइराला परिवारमा रोनुका भेटिने आशा पलाएको थियो। लामो कपाल, लामो नङ, सानो कम्मर र गलामा सिक्री रहेको तथा उमेरले २०–२२ वर्षजस्तो देखिने नवविवाहित युवतीको शव भेटिएको जानकारी पाएपछि प्रहरी, ट्राफिक र एम्बुलेन्सको समन्वयमा शव काठमाडौँ ल्याइएको थियो।

रोनुकाकै शव हुनसक्ने आशामा कोइराला दम्पती हिजो बेलुकीदेखि त्रिवि शिक्षण अस्पतालमा प्रतीक्षारत थिए। तर, आज आफैँ शवगृहभित्र पुगेर शवहरू हेर्दा पनि उक्त शव रोनुकाको नभएको पुष्टि भयो।

कोइरालाका अनुसार शवगृहभित्रको अवस्था अत्यन्तै पीडादायी छ। लामो समय बितिसकेका कारण केही शव सडेर अनुहारबाट पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा आफन्तको शव चिन्न खोज्दा परिवारजन थप मानसिक पीडामा पर्ने उनको अनुभव छ।

चितवनतर्फ फेला परेका शवहरूको समेत पहिचान प्रक्रिया अघि बढिरहेको भए पनि त्यहाँबाट भान्जी भेटिने सम्भावना न्यून देखिएको कोइराला बताउँछन्। पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखेर सामूहिक अन्त्येष्टि गर्ने तयारी भइरहेकाले अब जीवितै वा पहिचान गर्न सकिने अवस्थामा आफन्त भेटिने आशा क्रमशः कमजोर बन्दै गएको उनको भनाइ छ।

रोनुका मात्रै होइन, उनका ज्वाइँ सिजन अधिकारी पनि अझै बेपत्ता छन्। तुप्छेस्थित घरमा रहेका सासू–ससुरा तथा अन्य आफन्तहरू अझै उद्धारको पर्खाइमा छन्।

लामो समयसम्म खोजी गर्दा पनि आफन्तको कुनै खबर नआएपछि कोइराला अब पीडित परिवारले कठोर वास्तविकता स्वीकार गर्नुपर्ने अवस्थामा पुगेको बताउँछन्।

‘अब त भित्र गएर हेर्ने हिम्मत र आशा दुवै सकियो, केवल माया मार्नु नै अन्तिम सत्य बनेको छ,’ उनले पीडा सुनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖