पोखरा । भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेका आफन्तका शव पहिचान गर्न परिवारजनले कपडा, गहना, ट्याटु तथा शरीरमा रहेका अन्य चिनोको सहारा लिनुपरेको छ। बाढीमा परी मृत्यु भएकाहरूका शव विभिन्न जिल्लाबाट संकलन गरी पोखरा ल्याइएको छ।
नुवाकोटका राजकुमार तामाङले आफ्ना ५ वर्षीय छोरा प्रिन्सको शव घाँटीमा लगाएको टाइ र मालाबाट पहिचान गरे। स्कुल जाने क्रममा भोटेकोशीको बाढीमा बगेका प्रिन्सको शव नवलपुरस्थित नारायणी नदी किनारमा फेला परेको थियो। प्रहरीले शवको फोटो वेबसाइटमा सार्वजनिक गरेपछि राजकुमारले त्यही फोटो हेरेर छोराको पहिचान गरेका थिए। त्यसपछि उनी पोखरा पुगेर शव बुझी घर फर्किएका छन्।
त्यस्तै, भक्तपुरका सत्यकृष्ण पराजुलीले आफ्ना दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीमा रहेको ट्याटुबाट पहिचान गरे। सत्यसुन्दरको शव पनि रसुवाबाट बग्दै आएको अवस्थामा फेला परेको थियो।
बाढीले बगाएर ल्याएका १ सय २ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा फेला परेका शव पोखरा ल्याइएको हो।
तर, सबै शव सग्लो अवस्थामा छैनन्। केही शवमा हात वा खुट्टामात्रै फेला परेको छ भने धेरै शवको शारीरिक अवस्था क्षतिग्रस्त भएकाले पहिचान गर्न कठिन भएको छ। प्रहरीले शवको फोटो खिचेर डिस्प्लेमा राखेपछि आफन्तले विभिन्न चिनोका आधारमा पहिचान गर्ने प्रयास गरिरहेका छन्।
एउटै शवमा तीन परिवारले आफ्नो आफन्त भएको दाबी गरेपछि थप समस्या उत्पन्न भएको छ। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उक्त शवको डीएनए नमुना संकलन गरिएको छ। डीएनए परीक्षणपछि मात्रै वास्तविक पहिचान खुल्नेछ।
हालसम्म संकलित १ सय २ शवमध्ये ४६ वटाको पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गरिएका शवमध्ये १० वटा पहिचान भइसकेर आफन्तले बुझिसकेका छन्। बाँकी शवको पोस्टमार्टम प्रक्रिया पनि अघि बढिरहेको प्रहरीले जनाएको छ।
शवको पोस्टमार्टमका क्रममा फरेन्सिक विशेषज्ञसमेत परिचालन गरिएको छ। साथै, डीएनए नमुना तथा फिंगरप्रिन्ट संकलन गरेर पहिचानको प्रयास भइरहेको छ।
एसपी कार्कीका अनुसार शव सग्लो अवस्थामा भए र औँलामा क्षति नपुगेको अवस्थामा पुरानो फिंगरप्रिन्टसँग भिडाएर बायोमेट्रिक माध्यमबाट पहिचान गर्न सकिने सम्भावना हुन्छ। तर अधिकांश शव क्षतिग्रस्त भएकाले फिंगरप्रिन्टबाट पहिचान गर्न कठिन भइरहेको छ।
पहिचान हुन नसकेका शवलाई पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको जग्गामा व्यवस्थापन गर्ने तयारी गरिएको छ। यद्यपि, डीएनए परीक्षणबाट पछि पहिचान खुलेमा आफन्तलाई शव बुझाउन सकिने प्रहरीले जनाएको छ।
शव पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजारभन्दा बढी आफन्त पुगेका छन्। प्रहरीले सहायता कक्ष स्थापना गरी आफन्तलाई आवश्यक जानकारी तथा सहजीकरण गरिरहेको छ।
