• Monday 5th of October 2026

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टामै फेला, महिला पक्राउ


  • धनकुटा खबर
  • .

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै फेला पारेको छ। प्रहरीले शिशु चोरीको आरोपमा एक महिलालाई समेत पक्राउ गरेको छ।

प्रहरीले वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट नवजात शिशुसहित स्थानीय सबिना खातुनलाई पक्राउ गरेको पर्साका प्रहरी प्रमुख पवन भट्टराईले जानकारी दिए।

उनका अनुसार रातभर सञ्चालन गरिएको खोजी अभियानका क्रममा शिशुसहित महिलालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

पक्राउ परेकी खातुनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ। शिशुलाई समेत प्रहरीले सुरक्षित रूपमा फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको थियो। परिचय नखुलेकी महिलाले बच्चाकी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन्। त्यसपछि ती महिला शिशुसहित फरार भएकी थिइन्।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत उक्त बालकलाई जन्म दिएकी थिइन्। घटना सार्वजनिक भएलगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖