• Monday 5th of October 2026

भोटेकोशी बाढीमा बेपत्ता ३८ वर्षीय तामाङको शव कपिलवस्तुमा भेटियो


  • धनकुटा खबर
  • .

कपिलवस्तु । भोटेकोशी बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३८ वर्षीय शंखबुद्ध तामाङको शव कपिलवस्तुमा फेला परेको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ का तामाङको शव कपिलवस्तुमा पहिचान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भोटेकोशी बाढीमा बगेर मृत्यु भएका तर पहिचान खुल्न नसकेपछि कपिलवस्तुमा राखिएका ६ शवमध्ये तामाङको सनाखत भएको हो।

उनका दाजु कर्मध्वज लामाले शवको सनाखत गरेका हुन्। नेपाल प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको शवको तस्वीर तथा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको शवको तस्वीर हेरेपछि आफन्तले तामाङको पहिचान गरेका थिए।

पहिचानपछि आफन्तले पिपरा इलाका प्रहरी कार्यालयमा सम्पर्क गरेका थिए। त्यसपछि कपिलवस्तु पुगेर शव बुझेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

तामाङ नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका थिए। उनी भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका थिए।

बाढीमा बगेर विभिन्न स्थानमा पुगेका शवहरू पहिचान हुन नसक्दा प्रहरीले तस्वीर सार्वजनिक गर्दै आफन्तको खोजी तथा सनाखत प्रक्रिया अघि बढाउँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖