• Monday 5th of October 2026

भोटेकोशी बाढी : श्रीमतीसँग ३ मिनेट भिडिओ कल गरे, त्यसपछि सम्पर्कविहीन भए


  • धनकुटा खबर
  • .

सुर्खेत । नेपाली सेनाको श्री शेर गण, नुवाकोटमा कार्यरत सिपाही प्रकाश भण्डारी भोटेकोशी बाढीमा परेर बेपत्ता भएको दुई सातासम्म पनि सम्पर्कमा आएका छैनन्।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोटका २९ वर्षीय प्रकाश भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनको अवस्था अझै अज्ञात छ।

बाढी आएको दिन बिहान करिब ८ बजे प्रकाशले श्रीमती धनकुमारी लामिछानेसँग भिडिओ कलमा कुराकानी गरेका थिए। करिब तीन मिनेट भएको उक्त कुराकानीमा उनीहरूले घरपरिवारको अवस्थाबारे सामान्य कुराकानी गरेका थिए।

‘८ बजेतिर कुरा भएको थियो, त्यसपछि हामी आ–आफ्नो काममा व्यस्त भयौँ,’ धनकुमारीले भनिन्, ‘पछि एकैपटक धेरै सैनिक सम्पर्कविहीन भएको खबर आयो। हामी छाँगाबाट खसेजस्तै भयौँ।’

त्यसपछि प्रकाशसँग परिवारको सम्पर्क हुन सकेको छैन। प्रकाशको खोजीका लागि परिवारले नेपाली सेनाको गणमा पटक–पटक सम्पर्क गरिरहेको छ। तर अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको धनकुमारीले बताइन्।

‘गणमा फोन गर्दा पनि केही थाहा छैन भन्नुहुन्छ। बेलाबेला गणबाट पनि मलाई फोन आउँछ। अहिलेसम्म केही थाहा छैन भनेर जानकारी दिनुभएको छ,’ उनले रुँदै भनिन्।

धनकुमारीका अनुसार प्रकाश बाढी आएको समयमा गणमै कार्यरत थिए। उनीसँग भिडिओ कल हुँदा पनि प्रकाश सेनाको पोसाकमै थिए।

देश सेवाको उद्देश्यले करिब सात वर्षअघि नेपाली सेनामा भर्ती भएका प्रकाशको परिवारमा श्रीमती, सात वर्षीया छोरी र छ महिनाका छोरा छन्। उनका बुवा–आमा तथा दाइ–भाउजू पनि छन्।

प्रकाश गत साउनमा घर आएका थिए। २५ दिनको बिदा सकेर उनी भदौ १ गते आफ्नो कार्यक्षेत्र नुवाकोट फर्किएका थिए।

श्रीमान् बेपत्ता भएपछि परिवार गहिरो पीडामा छ। धनकुमारीले जसरी भए पनि प्रकाशको अवस्थाबारे जानकारी पाउन आफूहरू आतुर रहेको बताइन्।

‘जसरी हुन्छ मेरो श्रीमान्को खबर हामीले सुन्न पाऔँ। जे जस्तो अवस्थामा हुनुहुन्छ, कस्तो हुनुहुन्छ, हामीलाई खबर भइदिए हुन्थ्यो,’ उनले भनिन्।

प्रकाश परिवारका मुख्य आधारसमेत थिए। उनको अवस्थाबारे कुनै जानकारी नआउँदा परिवार उनको खोजीको पर्खाइमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖