• Monday 5th of October 2026

त्रिशूली ३ ए मा आशाजनक सङ्केत ‘भित्रबाट आवाज आएको सुनियो’, गृहमन्त्री पनि पुगे


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको दाबी गरिएको छ।

उद्धार कार्यमा विज्ञका रूपमा संलग्न सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी दिएका हुन्। उनका अनुसार उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।

न्यौपानेले उक्त जानकारी उद्धारमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको उल्लेख गरेका छन्। यद्यपि नेपाली सेना र नेपाल प्रहरीले भने उक्त विषयमा हालसम्म औपचारिक पुष्टि गरेका छैनन्।

सुरक्षास्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङ आज बिहान हेलिकप्टरमार्फत त्रिशूली–३ ‘ए’ आयोजनास्थल पुगेका छन्।

नेपाली सेनाका अनुसार उद्धारकर्मीहरू सुरुङभित्र करिब १०० मिटर प्रवेश गरिसकेका छन्। तर सुरुङभित्र लेदो तथा अन्य अवरोध रहेकाले त्यसलाई पन्छाउँदै सावधानीपूर्वक अगाडि बढ्नुपर्ने अवस्था रहेको सेनाले जनाएको छ।
‘आशाजनक सङ्केत’

न्यौपानेले आज बिहान सामाजिक सञ्जालमा अर्को पोस्ट गर्दै नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उल्लेख गरेका छन्।

उनले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु आशाजनक सङ्केत भएको बताएका छन्।

न्यौपानेका अनुसार उनी हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न थिए। अब भने सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट गाडीमार्फत काठमाडौँ फर्कने तयारीमा छन्।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्था यकिन गर्न र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रयास जारी राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖