काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताएका छन्।
शुक्रबार रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा ओलीले नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण र विश्वसनीय संस्था भएकाले सधैँ निष्कलंक र विवादरहित रहनुपर्ने बताए।
‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो,’ ओलीले भने, ‘तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ।’
सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले आफ्नो गरिमा र संस्थागत मर्यादा कायम राख्नुपर्ने उनले बताए। अहिलेको प्राथमिकता राहत, उद्धार र पुनःस्थापना भएको उल्लेख गर्दै ओलीले विपद्पछि भत्किएका संरचनाको पुनर्निर्माणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए।
उनले प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने काम भइरहेको जानकारी दिए।
‘ग्रीन आर्मी’ माथि प्रश्न
ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम, परिचालन र आर्थिक स्रोतबारे पनि प्रश्न उठाएका छन्।
उनले उक्त समूहको परिचय, उद्देश्य र कानुनी आधारबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए। सेनाको पोशाकजस्तै देखिने ‘चुस्ता’ तथा कतिपय अवस्थामा दर्ज्यानी चिह्नसमेत प्रयोग गरिएको भन्दै ओलीले त्यसको कानुनी आधार र खर्चको स्रोतबारे प्रश्न गरेका हुन्।
७० हजारको संख्यामा रहेको दाबी गरिएको समूहको पोशाक, बुट र परिचालन खर्च कसले व्यहोर्छ भन्ने स्पष्ट हुनुपर्ने उनले बताए।
आफू प्रधानमन्त्री भएका बेला उक्त संस्था दर्ता भएको भन्ने चर्चाप्रति टिप्पणी गर्दै ओलीले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई सम्बन्धित प्रशासनिक निकायको भएको स्पष्ट पारे।
‘यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन,’ ओलीले भने, ‘गत वर्ष रसुवामा बाढी आउँदा वा मुलुकमा अन्य राजनीतिक घटनाक्रम हुँदा पनि यो युनिफर्ममा कुनै जनशक्ति देखिएको थिएन।’
उनले उक्त समूहले कसरी र कुन प्रक्रियाबाट तालिम पायो, त्यसको खर्च कसले व्यहोर्यो र आफ्नो नाम किन जोडियो भन्ने विषयमा समेत प्रश्न उठाए। रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने ओलीको भनाइ छ।
यद्यपि ओलीले नेपाली सेना र नेपाल प्रहरीले उद्धार तथा राहतका क्षेत्रमा पुर्याएको योगदानको भने प्रशंसा गरे।
राहत र पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह
ओलीले बाढीपहिरो प्रभावितलाई प्रत्यक्ष राहत पुर्याउनु एमालेको प्राथमिकता रहेको बताए। पार्टीले आफ्नै स्रोत र कार्यकर्ता परिचालन गरेर राहत सामग्री संकलन तथा वितरण गरिरहेको जानकारी दिँदै उनले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखिएको बताए।
सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा तत्काल पीडितको हातमा राहत पुर्याउन प्राथमिकता दिएको उनको भनाइ छ।
‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ,’ ओलीले भने, ‘तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएका छौँ।’
उनले विपद्को समयमा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्न सबैलाई आग्रह गरे।
कृत्रिम तस्बिर बनाएर प्रचार नगर्न आग्रह
ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर तथा दृश्य बनाएर प्रचार गर्ने प्रवृत्तिको समेत आलोचना गरे।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा पीडितको सेवामा केन्द्रित हुनुपर्ने भन्दै उनले कृत्रिम दृश्य बनाएर आफूलाई जनताको सेवक देखाउने प्रयास नगर्न आग्रह गरे।
‘मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो,’ ओलीले भने, ‘कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन।’
उनले सबै राजनीतिक दल, संघसंस्था र नागरिकलाई प्रचारभन्दा सेवा र राहतलाई प्राथमिकता दिन आग्रह गरे।
