• Monday 5th of October 2026

त्रिशूली–३ए मा १७० मिटर भित्र पुगे उद्धारकर्मी, अरू हाइड्रोमा के छ प्रगति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । भोटेकोशी विपद्को १० औँ दिन नेपाली सेना र सशस्त्र प्रहरीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियानलाई केन्द्रित गरेका छन्।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट शुक्रबार सञ्जय साह र कबीर महर्जनलाई जीवितै उद्धार गरिएको छ। सोही आयोजनाको सुरुङबाट एक जनाको शवसमेत निकालिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका महासेनानी झवीन्द्र रेश्मीका अनुसार साह र महर्जनलाई सुरुङभित्र करिब १७० मिटरको दूरीबाट जीवितै उद्धार गरिएको हो। त्रिशूली–३ ‘ए’ मा अझै खोज तथा उद्धार कार्य जारी छ।

नुवाकोटस्थित श्री नम्बर–१ सैन्य तालिम केन्द्रबाट खोज तथा उद्धार अभियानको समन्वय गरिरहेका महासेनानी रेश्मीका अनुसार सेनाका टोलीले रसुवा र नुवाकोटका सातवटा सुरुङमा खोजी गरिरहेका छन्।

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारकर्मी करिब ३० मिटरभित्र पुगेका छन्। त्रिशूली–६ ‘बी’ मा करिब ३० मिटरभित्रबाट माटो र लेदो हटाउने काम भइरहेको छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा सेना करिब १५० मिटरभित्र पुगेको उनले जानकारी दिए।

लाङटाङ जलविद्युत् आयोजनामा विभिन्न स्थानबाट प्वाल बनाएर सुरुङभित्र प्रवेश गरी खोजी गर्ने प्रयास भइरहेको छ। २१६ मेगावाटको अपर त्रिशूली–१ आयोजनामा उद्धारकर्मी करिब २०० मिटर सुरुङभित्र प्रवेश गरेका छन्। त्यहाँ र्‍याफ्टमार्फत समेत खोजी भइरहेको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा उद्धारकर्मी करिब २७५ मिटरभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटेका छन्। इन्द्रेणीघाटमा तुइनको सहायताले खोजी भइरहेको छ भने नुवाकोटको देवीघाटमा सेनाले तुइन निर्माण गरिरहेको छ। देवीघाटमा बेलिब्रिज निर्माणको कामसमेत सुरु गरिएको छ।

रसुवा र नुवाकोटका २१९ स्थानमा जमिनबाटै सुरक्षाकर्मी परिचालन गरी खोज, उद्धार तथा राहत वितरणको काम भइरहेको सेनाले जनाएको छ।

शुक्रबार हेलिकप्टरमार्फत १८ जनाको उद्धार गरिएको महासेनानी रेश्मीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएकामध्ये ११ पुरुष, ७ महिला र एक जना चिनियाँ नागरिक रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖