काठमाडौँ । नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारकर्मी ४२६ मिटरभित्र प्रवेश गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनाको सुरुङ तथा क्वार्टरमा फसेकाहरूको खोजीका लागि उद्धारकर्मी उक्त दूरीसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको हो। आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको समेत लगानी रहेको छ।
बाढीपछि आयोजनाको क्वार्टर र सुरुङमा गरी १२२ जना फसेको आकलन गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि ८९ जना सैनिक र तीन जना गैरसैनिक उद्धारकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ।
खोज तथा उद्धारमा आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल पनि स्थलमै खटिएका छन्।
संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरिसकेको जनाएको छ। ती स्थानसम्म पुग्न स्काभेटर सुरुङभित्र प्रवेश गराउने प्रयास भइरहेको छ।
फसेका व्यक्तिहरूको अवस्था पत्ता लगाउन सुरुङभित्रको अवरोध हटाउँदै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
