• Monday 5th of October 2026

चिलिमे सुरुङमा उद्धारका लागि मेसिन तयार, छिट्टै ६ जनालाई निकाल्ने आशा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धार कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत पछिल्लो अवस्थाबारे जानकारी दिँदै ढकालले सम्भवतः छिट्टै सुरुङभित्र रहेका थप ६ जनाको उद्धार गर्न सकिने आशा व्यक्त गरेका छन्।

उनका अनुसार थ्री ‘ए’ सुरुङमा आवश्यक सामग्री पुर्‍याएर पहिलो ब्लास्टिङसमेत गरिएको छ। थ्री ‘ए’ को सुरुङ उकालो भएकाले भित्रको माटो निकाल्न पानीको फोहोरा प्रयोग गरिएको थियो। तर, चिलिमेको सुरुङ ओरालो भएकाले लेदो माटो बाहिर निकाल्न फरक प्रविधि आवश्यक परेको उनले बताएका छन्।

यसका लागि आवश्यक मेसिनसमेत तयार पारिएको र उक्त मेसिन राति विदुर पुगेर भोलि बिहान चिलिमे पुर्‍याउने तयारी रहेको ढकालले जानकारी दिएका छन्।

उनले काम द्रुत गतिमा अघि बढे भोलि साँझसम्म वा पर्सि बिहानसम्म सुरुङभित्र प्रवेश गर्न सकिने अवस्था बन्न सक्ने बताएका छन्।

तर, सुरुङभित्रको उद्धार कार्य जटिल भएकाले योजना गरेअनुसार नै काम हुन्छ भन्ने निश्चित नरहेको उनको भनाइ छ। यद्यपि उद्धार टोली धेरै आशावादी रहेको ढकालले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖