काठमाडौँ । नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाएकी चिनियाँ नागरिक लीको जीवनकथा अहिले चिनियाँ सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
ग्रामीण क्षेत्रको विपन्न परिवारमा जन्मिएकी लीले कठिन परिस्थितिका बाबजुद उच्च शिक्षा हासिल गरेकी थिइन्। कडा मेहनत र निरन्तरको प्रयासपछि उनले हालै चीनको भन्सार सेवाका लागि लिइएको प्रतिस्पर्धात्मक परीक्षामा करिब २ हजार उम्मेदवारलाई पछि पार्दै भन्सार अधिकारीको पदमा नाम निकाल्न सफल भएकी थिइन्।
सरकारी सेवामा प्रवेश गरेपछि लीले आफ्नो नयाँ जिम्मेवारीमा भने चार दिन मात्रै काम गर्न पाइन्। जागिर सुरु गरेको केही दिनमै नेपालमा आएको भोटेकोशी बाढीमा परी उनको ज्यान गएको बताइएको छ।
सरकारी सेवामा प्रवेशसँगै सुरु भएको उनको नयाँ जीवन बाढीले क्षणभरमै अन्त्य गरिदिएको छ। उनको निधनसँगै परिवारका सदस्य र उनले देखेका थुप्रै सपना अधुरै भएका छन्।
लीले आगामी वर्षको वसन्त चाडको बिदामा आफ्ना वृद्ध आमाबुबालाई बेइजिङ घुमाउने योजना बनाएकी थिइन्। तर, त्यो योजना पूरा हुन पाएन।
घटनापछि उनकी बहिनीले सामाजिक सञ्जालमा भावुक श्रद्धाञ्जली व्यक्त गर्दै दिदीको संघर्ष र दुखद अन्त्यबारे लेखेकी छन्। उनका अनुसार सरकारी जागिर प्राप्त गर्न लामो समय संघर्ष गरेकी लीले पद सम्हालेको चार दिनमै ज्यान गुमाउनुपर्यो।
बहिनीले भावुक हुँदै लेखेकी छन्, ‘जागिर पाउनका लागि यति धेरै संघर्ष गरेकी दिदीले सरकारी सेवामा चार दिन मात्र काम गर्न पाइन्, तर दुःखको कुरा उनको पहिलो तलब नै पेन्सनमा परिणत भयो।’
लीको असामयिक निधनपछि चिनियाँ सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको संघर्ष, सफलता र छोटो समयमै भएको दुखद अन्त्यले धेरैलाई भावुक बनाएको छ।
