काठमाडौँ । ३३ वर्षीय एक महिलाको पेटबाट चिकित्सकले १३ वटा कलम, पाँचा वटा काठको चम्चा र एउटा मैनबत्ती जस्तो वस्तु निकालेका छन् ।
भारतको आन्ध्र प्रदेशको पालनाडु जिल्लाको नरसारावपेट निवासी ३३ वर्षीय महिलाको छातीमा बायाँतर्फ दुख्न थालेपछि उनलाई परिवारले उपचारका लागि माताश्री अस्पतालमा लगेका थिए ।
चिकित्सकले उनको ईसीजी र इन्डोस्कोपी गरिएको थियो । उपचारमा संलग्न चिकित्सक रामचन्द्र रेड्डीका अनुसार इसीजी रिपोर्ट ठिक थियो तर इन्डोस्कोपी रिपोर्टमा पेटमा लामा विभिन्न बस्तु रहेको पत्ता लागेको थियो । सिटी स्क्यान गरेर पेटमा रहेका बस्तुको पुनः पुष्टि गरेपछि अप्रेसन गर्ने निधो गरिएको थियो ।
अप्रेसन गरेर पेटबाट १३ वटा कलम, पाँच वटा काठका चम्चा र एउटा मैनबत्तीजस्तो बस्तु निकालिएको रेड्डीले जानकारी दिए । ती महिलाको अवस्था स्थिर रहेको जनाइएको छ ।
रेड्डीका अनुसार ती महिला मानसिक रोगको सिकार भएकी थिइन् । ती महिलाले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती बस्तु निलेको बताएकी छन् ।
