काठमाडौँ। काठमाडौँको माइतीघरमा मङ्गलबार आत्मदाह प्रयास गर्ने लक्ष्मीदेवी बस्नेत पूर्वराजा समर्थक भएको खुलेको छ । गोरखा घर भएकी ३० वर्षीया बस्नेतले आफ्नै शरीरमा आगो लगाउँदा ३० प्रतिशत जलेको छ ।
जेनजी प्रदर्शनको एक वर्ष पुगेको दिन माइतीघरमा गएर उनले राजा समर्थक जेनजीहरूको विषय पनि सम्बोधन हुनुपर्ने माग गरेकी थिइन् । राजवादी जेनजीहरूको माग पनि ‘सुनुवाइ हुनुपर्छ’ भन्दै गर्दा हिजो साँझ उनले आफ्नै शरीरमा आगो लगाइन् ।
सुरुमा ट्रमा सेन्टरमा लगिएको लक्ष्मीलाई अहिले उपचारका लागी कीर्तिपुर बर्न अस्पतालमा राखिएको छ। लक्ष्मीदेवीको कीर्तिपुर बर्न अस्पतालको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । उनले अरू जेनजीहरुभन्दा फरक धारणा राखेर आफ्नो आवाज उठाउँदै आएकी थिइन्।
सबै जेनजी युवाहरूको माग सम्बोधन हुनुपर्ने आवाज उठाउन माइतीघरमा पुगेकी लक्ष्मीदेवी सुरुमा त्यहाँ धर्नामा बसेकाहरूको टेन्टमा बस्न खोजेकी थिइन्। त्यसपछि अचानक उनले शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएसँगै प्रहरी र माइतीघरमा भेला भएकाहरूले आगो निभाएर उनलाई ट्रमा सेन्टरमा पठाएका थिए।
