दाङ । रोजगारीका लागि मलेसिया पुगेका दाङको शान्तिनगर गाउँपालिका–५, ढोरेनी निवासी करिब ३० वर्षीय वीरेन्द्र चौधरीको अचानक निधन भएको छ ।
गंगाराम चौधरीका जेठा छोरा वीरेन्द्र केही समयअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । मलेसियामा उनको अचानक निधन भएपछि परिवार, आफन्त, छिमेकी तथा सिङ्गो गाउँ शोकमा डुबेको छ ।
उनको निधनको खबरले आफन्त तथा स्थानीयवासी स्तब्ध भएका छन् । परिवारले वीरेन्द्रको शव नेपाल ल्याउने तयारी गरिरहेको छ ।
शव नेपाल ल्याउन आवश्यक प्रक्रिया तथा समन्वयका लागि शान्तिनगर गाउँपालिका–५ का वडा अध्यक्ष ओपेन्द्रबहादुर रावत र शान्तिनगर रोजगार शाखा प्रमुख निमराज सापकोटा सक्रिय रूपमा खटिएका छन् ।
बिदाको दिनसमेत सम्बन्धित निकायसँग समन्वय गर्दै शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाउन सहजीकरण भइरहेको जनाइएको छ ।
वीरेन्द्रको निधनको कारण भने खुलाइएको छैन ।
