भक्तपुर । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको पसलबाट ८९ थान भरिएका ग्यास सिलिण्डरसमेत बरामद गरेको छ।
बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह पक्राउ परेका हुन्। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल सोही स्थानमा बस्दै आएका शाहले सञ्चालन गरेको किराना पसलबाट उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँका दरले बिक्री गर्दै आएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यास सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट पनि प्रहरीले ग्यास कालोबजारीको आरोपमा ४१ वर्षीय राजेश कर्मचार्यलाई पक्राउ गरेको छ। उनको साथबाट १४ थान सगर ग्यासका भरिएका सिलिण्डर बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
