काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। उद्धारमा प्राविधिक समन्वयका लागि नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङसमेत उद्धारस्थलमा खटिएका छन्।
घिसिङका अनुसार विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा थुप्रिएको ठूलो परिमाणको लेदो, बालुवा तथा ढुंगा पन्छाउँदै उद्धार टोली निरन्तर अगाडि बढिरहेको छ।
सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा प्रतिध्वनि सुनिएको तथा त्यहाँबाट चिसो हावा आइरहेको पाइएको छ। यसले सुरुङभित्र फसेका कर्मचारीहरू जीवितै रहेको हुन सक्ने आशा बढाएको उद्धार टोलीले जनाएको छ।
उद्धार टोलीका अनुसार अब भूमिगत विद्युत्गृहसम्म पुग्न करिब १०० मिटर दूरी मात्र बाँकी रहेको बताइएको छ।
उद्धार कार्यलाई थप तीव्र बनाउन स्याफ्रुबेँसीतर्फबाट सुरुङसम्म पुग्ने बाटो निर्माणका लागि एक्स्काभेटर परिचालन गरिएको छ। एक्स्काभेटर सुरुङसम्म पुगेपछि अवरोध हटाउने तथा उद्धार कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीहरू निरन्तर खटिरहेका छन्।
घिसिङले उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका कर्मचारीहरूलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
