काठमाडौँ । साउदी अरबको ऊर्जा पूर्वाधारमा भएको आक्रमणपछि इस्ट–वेस्ट पाइपलाइन सञ्चालनमा आउन नसक्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ।
मंगलबार बिहान ब्रेन्ट क्रुडको मूल्य २.३७ प्रतिशत बढेर प्रतिब्यारेल १०८.१८ डलर पुगेको थियो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य २.४३ प्रतिशत बढेर १०३.८५ डलर प्रतिब्यारेल पुगेको छ।
साउदी अरबको तेल पूर्वाधारमा भएको क्षतिका कारण विश्व बजारमा तेल आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको हो। इस्ट–वेस्ट पाइपलाइनले स्ट्रेट अफ होर्मुजलाई छल्दै साउदी अरबको तेल रेड सीमा रहेको यान्बु बन्दरगाहसम्म पुर्याउने गर्छ।
पाइपलाइन मर्मत गर्न आठ सातासम्म लाग्न सक्ने अनुमान गरिएको छ। गोल्डम्यान स्याक्सले पछिल्लो आक्रमणका कारण ब्रेन्टको मूल्य १२० डलरभन्दा माथि पुग्न सक्ने आकलन गरेको छ।
विश्लेषकहरूले पाइपलाइन केही सातासम्म बन्द रहेमा तेलको माग र आपूर्तिमा निर्भर गर्दै ब्रेन्टको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
