• Sunday 4th of October 2026

डिभोर्स होइन, रेशमविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेको पछिल्लो स्टाटसपछि डिभोर्सको तयारी गरेको चर्चा भए पनि रञ्जिताले भने आफू बहुविवाहसम्बन्धी मुद्दा दर्ता गर्ने तयारीमा रहेको स्पष्ट पारेकी छन्।

रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्नँ, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ। तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’

उनको यही अभिव्यक्तिबारे जिज्ञासा राख्दा रञ्जिताले आफू लामो समयदेखि मौन बसे पनि पछिल्लो घटनाक्रमले कानुनी बाटो रोज्न बाध्य भएको बताइन्।

‘म धेरै समयदेखि मौन बसेकी थिएँ। तर मलाई नै झन् धेरै पीडा दिने काम भएको छ। म उहाँ (रेशम चौधरी) विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छु,’ उनले भनिन्।

रञ्जिता र रेशमबीच लामो समयदेखि व्यक्तिगत तथा राजनीतिक दूरी रहेको छ। उनीहरू अलग–अलग बस्दै आएका छन्। रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा चौधरी र छोरीसँग बस्दै आएको बताइएको छ।

यसैबीच आशा चौधरीले रेशमसँगका विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी छन्। पछिल्लो भिडिओमा उनले ‘मान्छेहरू भ्रममा छन्, म उहाँको एक्लो बुढी हो’ भनेर लेखेकी थिइन्। त्यसपछि रेशम र आशाबीचको सम्बन्धलाई लिएर थप चर्चा भएको थियो।

रञ्जिताको दाबीअनुसार रेशमले आफू उनीसँग वैवाहिक सम्बन्धमा रहेकै अवस्थामा आशासँग दोस्रो विवाह गरेका हुन्। रेशम र आशाको विवाह दर्ता भएको वा नभएको विषयसमेत अहिले विवादको केन्द्रमा छ।

कानुनी रूपमा भने बहुविवाहको कसुर स्थापित गर्न विवाह दर्ता मात्र निर्णायक विषय नहुन सक्छ। विवाह भएको तथ्य, त्यसका प्रमाण तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा विषयको निरूपण हुने हुन्छ।

रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको जानकारी पाएपछि रञ्जिता कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताइएको छ।

अब रञ्जिताले औपचारिक रूपमा मुद्दा दर्ता गर्छिन् वा गर्दिनन् भन्ने विषयले चौधरी दम्पतीबीच लामो समयदेखि चलिरहेको व्यक्तिगत र राजनीतिक विवादलाई थप कानुनी मोड दिने देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖