• Sunday 4th of October 2026

जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल, महिलाको खोजीमा प्रहरी


  • धनकुटा खबर
  • .

बझाङ । बझाङ सदरमुकाम नजिकै पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न महिलाको खोजी थालेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक महिलाले पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। स्थानीयवासी तथा पशु अधिकारकर्मीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बझाङले घटनाबारे अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी टेक जोराका अनुसार भिडियो बाहिरिएलगत्तै प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको थियो।

प्रहरी टोलीले पानकोट पुल आसपासमा निरीक्षण गरे पनि कुकुर फेला पार्न नसकेको डिएसपी जोराले बताए। उनका अनुसार कुकुर नदीमा खसेपछि जीवित रहे वा नरहेकोसमेत यकिन हुन सकेको छैन।

पशुपन्छीसम्बन्धी प्रचलित कानुनले पशुपन्छीप्रति निर्दयी व्यवहार गर्ने तथा यातना दिने कार्यलाई निषेध गरेको छ। प्रहरीले भिडियोमा देखिएकी महिलाको पहिचान तथा घटनाको वास्तविकताबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖