सुर्खेत । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा शाहीको निधन भएको हो। उनलाई हृदयाघात भएको थियो।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी शाही नेपाली कांग्रेस दैलेखका अग्रणी नेता थिए। २०३६ सालको जनमतसंग्रहका क्रममा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।
२००६ सालमा जन्मिएका शाहीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग भेट गरेपछि कांग्रेसको राजनीति सुरु गरेका थिए। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत राजनीति गरेका उनी विभिन्न समयमा गरी नौ पटक पक्राउ परेका थिए। २०४६ सालको जनआन्दोलनका क्रममा उनी ५१ दिन हिरासतमा बसेका थिए।
२०४९ सालमा उनी जिल्ला विकास समिति दैलेखका सभापति बने। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवारी दिए पनि निर्वाचित हुन सकेनन्।
२०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेका शाही प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत भएका थिए। उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक पनि बनेका थिए।
प्रदेशसभाको पाँचवर्षे कार्यकाल पूरा गरेपछि शाही सक्रिय राजनीतिबाट टाढिँदै आफ्नै गाउँमा बस्दै आएका थिए।
