धनगढी । बझाङमा जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेसकी ४२ वर्षीया बिमला देवी रोकाया रहेकी छन् । उनलाई जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेक जोराका अनुसार रोकायालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कुकुर करिब दुई सातादेखि बिरामी रहेको खुलेको छ । कुकुरको शरीरको पछाडिको भाग पाकेको र दुर्गन्ध आउने गरेको प्रहरीले जनाएको छ ।
बिरामी कुकुरले घरनजिकैको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि आफूले पुलबाट नदीमा फालेको रोकायाले बयान दिएको प्रहरीले जनाएको छ ।
