भरतपुर, असोज २ । चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा तेल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ७ः४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु.१ ख ६६०१ नम्बरको तेल ट्यांकर आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१० का करिब ३२/३३ वर्षीय शक्ति चौधरी र पछाडि सवार सोही ठाउँका करिब २८/२९ वर्षीय नसिब चौधरी घाइते भएका थिए । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा शक्ति चौधरीलाई राति ८ः४० बजे र नसिब चौधरीलाई ८ः४८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले तेल ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।
दुर्घटनाका कारण केही समय प्रभावित भएको राजमार्गको यातायात अहिले सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
