जनकपुरधाम । सप्तरी जिल्ला अदालत परिसरमा एक प्रौढ व्यक्तिलाई एक युवकले भुईँमा घिसार्दै लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको वास्तविक पृष्ठभूमि ज्यान मार्ने उद्योग मुद्दासँग जोडिएको खुलेको छ।
भिडियोमा एक युवकले प्रौढ व्यक्तिलाई अदालत परिसरभित्रबाट घिसार्दै बाहिर लगेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि धेरैले घिसारिने व्यक्तिप्रति सहानुभूति जनाउँदै युवकको आलोचना गरेका थिए।
तर प्रहरीका अनुसार घिसारिँदै गरेका व्यक्ति सामान्य रूपमा अदालत पुगेका व्यक्ति नभई ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार बोदेबरसाइन नगरपालिका–९ महनौरी टोलका ४३ वर्षीय रामपुकार यादव ज्यान मार्ने उद्योग मुद्दामा वारदातपछि फरार रहेका थिए।
रामपुकार २०८३ भदौ ३१ गते बिहान करिब ११ बजे काम विशेषले सप्तरी जिल्ला अदालत पुगेका थिए। अदालत परिसरमै उक्त मुद्दाका जाहेरवाला अजयकुमार यादवका भतिजा मुकेशकुमार यादवसँग उनको भेट भएको प्रहरीले जनाएको छ।
फरार प्रतिवादी रामपुकारलाई देखेपछि मुकेशले उनलाई समात्न खोज्दा दुवैबीच धक्कामुक्का भएको एसपी खड्काले बताएका छन्। सोही क्रममा मुकेशले रामपुकारलाई अदालत परिसरमै घिसार्दै बाहिर लगेका थिए। घटनाको भिडियोसमेत खिचिएर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
घटनापछि प्रहरीले रामपुकार यादव र मुकेशकुमार यादव दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
