काठमाडौँ । काठमाडौँको जडीबुटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ ।
शुक्रबार बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा ३९ वर्षीया कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
दुर्घटनामा कार्कीका श्रीमान् काभ्रेको तेमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका छन् । उनीहरू भक्तपुरतर्फ जाँदै थिए ।
दोलखाबाट कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
