विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ।
प्रहरीका अनुसार घाइते स्थानीय २३ वर्षीय निरजकुमार यादव हुन्। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार यादवको तिघ्रामा गोली लागेको हो। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनापछि यादवलाई उपचारका लागि विराटनगर ल्याइएको थियो। गोली कसले र के कारणले चलाएको भन्ने विषय भने अझै खुल्न सकेको छैन।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए।
