काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका नीरजकुमार यादवको शरीरबाट बुलेट निकालिएको छ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अपरेसनपछि चिकित्सकहरूले यादवको शरीरबाट एउटा बुलेट निकालेका हुन्। १९ वर्षीय यादव देवानगञ्ज–१, कप्तानगञ्जका स्थानीय हुन्। उनको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगञ्ज–२ का स्थानीय लाली भनिने जयकिशोर यादव र विष्णुकुमार यादव रहेका छन्।
घटनामा संलग्न थप चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए। फरार आरोपीहरूको पहिचानसमेत खुलेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार युवतीसँग सम्बन्धित विवादका क्रममा गोली प्रहार भएको देखिएको छ। गोली प्रहार गर्ने समूह र घाइते यादव पूर्वपरिचित रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। उनका अनुसार यादवको शरीरबाट निकालिएको बुलेट परीक्षण गरिएपछि कुन हतियारबाट गोली प्रहार भएको हो भन्ने यकिन हुनेछ।
