बुटवल । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आज दिउँसो भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय चालक नरबहादुर राना मध्यम घाइते भएका छन्। सोही ठाउँका ५० वर्षीय कृष्णबहादुर राजमगर सामान्य घाइते भएका छन्।
त्यस्तै, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उनकी ७ वर्षीया छोरी साहिरस सारु मध्यम घाइते भएका छन्।
पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चा गम्भीर घाइते भएकी छन् भने उनकी ५ वर्षीया नातिनी सायरा खाम्चा मध्यम घाइते भएकी छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
