• Sunday 4th of October 2026

फरार अभियुक्तको घरमा बैन्ड बाजा बजाउँदै प्रहरी, सूचना टाँस


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट, ५असोज। मधेश प्रदेश संग जोडिएको भारत बिहार मोतीहारी जिल्लास्थित पीपराकोठी प्रहरीले हत्या मुद्दामा फरार रहेका तीन अभियुक्तको घरमा डुगडुगी र ब्यान्डबाजासहित पुगेर अदालतको आदेशअनुसार सूचना टाँसेको छ।

पीपराकोठी थानाध्यक्ष ब्रजेश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले मठगोपालका सोहन कुमार, नितेश कुमार र जहरी देवीको घरमा पुगेर सार्वजनिक रूपमा सूचना टाँस गरेको हो।

प्रहरीका अनुसार उनीहरूमाथि पीपराकोठी थाना काण्ड नम्बर ३४३/२६ अन्तर्गत भारतीय न्याय संहिताको धारा १०३(१), १२४(१) र ३(५) अनुसार मुद्दा दर्ता छ। मुद्दामा उनीहरू फरार रहेको र अदालतको आदेशपछि प्रहरीले यस्तो प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीले सार्वजनिक रूपमा सूचना टाँस्दै अभियुक्तहरूलाई कानुनी प्रक्रियामा उपस्थित हुन आग्रह गरेको छ। तोकिएको प्रक्रियाअनुसार उनीहरू उपस्थित नभएपछि सम्पत्ति जफत–(कुर्की जफती)तर्फ प्रक्रिया अघि बढ्न सक्ने प्रहरीले जनाएको छ।

नेपालमा पनि प्रभावकारी हुन सक्छ यस्तो कानुनी प्रक्रिया ?

फरार अभियुक्तलाई अदालतमा उपस्थित गराउन सार्वजनिक सूचना जारी गर्ने र त्यसपछि कानुनबमोजिम सम्पत्ति जफत (कुर्की–जफती)को प्रक्रिया अघि बढाउने व्यवस्था नेपालमा पनि विभिन्न कानुनी प्रावधानअन्तर्गत रहेको छ। तर यसको प्रभावकारिता कानुनी प्रक्रिया कति छिटो र निष्पक्ष रूपमा कार्यान्वयन हुन्छ भन्ने कुरामा निर्भर गर्छ।

अपराध अनुसन्धानमा फरार रहेका व्यक्तिलाई लामो समयसम्म पक्राउ गर्न नसक्दा पीडित पक्षमा न्याय प्रक्रियाप्रति निराशा उत्पन्न हुन सक्छ। त्यसैले अदालतबाट जारी आदेश कार्यान्वयन गर्ने, फरार अभियुक्तको खोजी तीव्र बनाउने र आवश्यक अवस्थामा कानुनले तोकेको प्रक्रियाअनुसार सम्पत्ति रोक्का वा ( कुर्की–जफती) गर्ने कामले अनुसन्धानमा सहयोग पुर्‍याउन सक्छ।

जानकारहरूका अनुसार दण्डको प्रचारभन्दा कानुनको निश्चित र समान कार्यान्वयनले अपराध नियन्त्रणमा बढी प्रभाव पार्छ। कुनै अभियुक्तलाई दोषी ठहर गर्नुअघि कानुनी प्रक्रिया र अदालतको निर्णयलाई सम्मान गर्दै फरार अभियुक्तलाई कानुनको दायरामा ल्याउने संयन्त्र प्रभावकारी बनाउनु आवश्यक हुन्छ।

यस घटनामा भारतीय प्रहरीले सार्वजनिक रूपमा सूचना टाँसेर फरार अभियुक्तलाई कानुनी प्रक्रियामा ल्याउने दबाब सिर्जना गरेको देखिन्छ। नेपालमा पनि यस्ता कानुनी प्रक्रियाको प्रभावकारी कार्यान्वयनले फरार अभियुक्तको खोजी तथा अनुसन्धानलाई थप व्यवस्थित बनाउन सक्ने देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖