सुर्खेत । नेकपा एमालेका युवा नेता नवीन योगीले पार्टी परित्याग गरेका छन्।
एमाले दैलेख जिल्ला कमिटीका सदस्य तथा क्षेत्रीय कमिटी सचिवसमेत रहेका योगीले मंगलबार विज्ञप्ति जारी गर्दै व्यक्तिगत राजनीतिक निर्णयका आधारमा पार्टी छाडेको बताएका छन्।
विद्यार्थी राजनीतिबाट सक्रिय भएका योगी एमाले निकट विद्यार्थी संगठनको स्थायी कमिटी सदस्य हुँदै कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए।
उनले पार्टी र संगठनबाट प्राप्त अनुभव, ज्ञान, अनुशासन तथा सकारात्मक पक्षलाई आगामी राजनीतिक यात्रामा मार्गदर्शनका रूपमा आत्मसात् गर्दै अघि बढ्ने बताएका छन्।
स्रोतका अनुसार योगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारीमा छन्। आगामी स्थानीय तह निर्वाचनमा दैलेखको दुल्लु नगरपालिकाको मेयरमा उम्मेदवारी दिने विषयमा समेत चर्चा चलेको छ।
