काठमाडौ । आज (बुधबार) राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज साँझ अद्यावधिक गरेको बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
यसैगरी कोसी प्रदेशको तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि राति मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोसी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, बागमती प्रदेशका पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भने आज राति भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र (डिप्रेसन) हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा छ। आगामी दिनमा यो थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।
जसको प्रभाव नेपालमा पर्ने र आगामी शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने सम्भावना छ। त्यसो त यसको आंशिक प्रभाव आजैदेखि परिसकेको मौसमविद्ले बताएका छन्।
