काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
पेसाले आर्किटेक्ट इन्जिनियर उनी यसअघि पार्टीको काठमाडौँ महानगर सचिव थिए । २०६३ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसबखत प्रहरीले चलाएको गोली लागेर उनी घाइतेसमेत भएका थिए ।
वैद्य नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा २०५५ सालमा स्ववियु उपसभापतिमा विजयी बनेका थिए । त्यसपछि उनले नेविसंघको काठमाडौँ जिल्लामा विभिन्न समयमा जिल्ला सदस्य, सह–सचिव, उपाध्यक्ष हुँदै काम गरेका थिए ।
नेपाल इन्जिनियरीङ्ग एसोसिएसनमा ३१औँ कार्यकारिणी समिति सदस्य र ३३औँ कार्यकारिणी समितिमा कोषाध्यक्ष निर्वाचित भई काम गरेको अनुभवसमेत उनीसँग छ ।
कांग्रेसको १२औँ र १३ औँ महाधिवेशबाट काठमाडौँ जिल्ला सदस्य निर्वाचित भएका उनी १४औँ महाधिवेशनबाट काठमाडौँ महानगर सचिव पदमा अत्याधिक मतले निर्वाचित भएका थिए ।
२०७९ सालमा काठमाडौँ महानगरको मेयर पदका लागि पार्टीलाई उनलाई उम्मेदवारका रूपमा सिफारिससमेत गरेको थियो । त्यस्तै २०८२ सालमा नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ६ को प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेदवारका लागि समेत उनको नाम सिफारिस भएको थियो ।
पछिल्लो १६ वर्षदेखि उनी आफ्नै व्यवसायमार्फत उद्यम गरिरहेका छन् ।
उनले नेपाल इन्जिनियर्स एसोसिएसनबाट युथ प्रोफेसनल अवार्डसमेत प्राप्त गरेका छन् । यस्तै इन्जिनियरहरूलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न उनको भूमिका महत्त्वपूर्ण छ । वैद्यले राष्ट्रिय योजना आयोगमा विज्ञ सल्लाहकारका रूपमा सेवा प्रदान गरेका छन् भने २०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा विज्ञ सल्लाहकारका रूपमा पनि रहेका थिए ।
यसैगरी उनले रक्षा मन्त्रालयमा रक्षा मन्त्रीको सल्लाहकारका रूपमा पनि सेवा गर्ने अवसर पाएका थिए ।
कांग्रेस काठमाडौँको महानगर निर्वाचित बनेका वैद्यले तत्कालीन महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रानी पोखरीको पुननिर्माणको क्रममा पुरातात्त्विक सम्पदाको मापदण्डविपरीत निर्माण गर्न लागेको भन्दै चर्को विरोध गरेका थिए । त्यसबखत विरोधको नेतृत्व गरेकै कारण उनी चर्चामा आएका थिए ।
त्यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा खुलामञ्चलाई व्यावसायिक रूपमा सञ्चालन गर्नेगरी पसल सटर निर्माण गर्न अनुमति दिइएको बेला उनले ‘खुलामञ्च खुला गर’ अभियानको नेतृत्व गरेका थिए ।त्यसबखत चौतर्फी विरोधपछि खुलामञ्चमा सटर बनाउने निर्णयबाट सरकार पछि हटेको थियो ।
यसैगरी वैद्यले अकुपाइ टुँडिखेल अभियानमा पनि सहभागिता जनाएका थिए । टुँडिखेलको अतिक्रमण रोक्न सो अभियान सञ्चालन गरिएको थियो । त्यसबखत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरिएको थियो ।
वैद्यले कमलपोखरीलाई वर्तमान स्वरुपमा पुनर्निर्माण गर्ने सवालमा पनि आफ्नो आवाजलाई चर्को रूपमा उठाएका थिए । उनले कमलपोखरीमा कंक्रिटको प्रयोगमा चर्को विरोध गर्दै पटकपटक प्रदर्शनमा सहभागी भएका थिए । यसैगरी काठमाडौँमा भएको गुठी आन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
काठमाडौँलाई बस्नयोग्य सहर बनाउने र काठमाडौँको ऐतिहासिकता, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा वैद्यले आफूलाई नेतृत्व तहमा नै उभ्याउँदै आएका छन् । उनी कांग्रेसभित्र काठमाडौँको आर्किटेक गर्ने डिजाइनरका रुपमा समेत चिनिन्छन् ।
