काठमाडौं । काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि पुलबाट आवतजावत रोक लगाइएको छ।
पुलसँगै रहेको ग्याबिन जालीको भाग भासिएपछि जोखिमलाई मध्यनजर गर्दै आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिए।
अविरल वर्षाका कारण भक्तपुरको खस्याङ खुसुङ खोलामा पानीको सतह बढेको छ। डेकुचाबाट चाँगुनारायणतर्फ जाने सडकमा खोलाको बहाव बढेर सडकसम्म पुगेको प्रहरीले जनाएको छ।
यस्तै, लोकन्थली नजिकै सागबारीमा नदीको सतह बढेर अस्थायी टहरासम्म पुगेपछि प्रहरीले त्यहाँ बसेकाहरूलाई सुरक्षित स्थानमा सारेको छ। उनीहरूलाई नजिकैको आदर्श जनप्रेमी स्कुलमा राखिएको एसपी खड्काले बताए।
बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला मिसिने क्षेत्र हो। देशभर बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ।
