काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा खसीको नाममा बाख्राको मासु बिक्री गरेको तथा कुकुरको मासु बेच्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार अत्तरिया बजारको धनगढी लाइनमा सञ्चालित रफिक मासु पसलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पसल सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक कुरेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी रहेका छन्।
उनीहरूले खसीको भन्दै बाख्राको मासु बिक्री गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ। बरामद गरिएको मासु परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी, बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ स्थित बसपार्कबाट ६५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको थियो।
कुकुर काटेको सूचना प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी तिमिल्सिनाले बताए। गोदावरी नगरपालिका–२ घर भएका नेपालीले अनुसन्धानका क्रममा आफूले खानका लागि स्यालको मासु काटेको बताएका छन्।
प्रहरीले सुरेशबाट बरामद भएको मासु पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ। उक्त मासु कुन जनावरको हो भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
