सुनसरी । अविरल वर्षापछि सप्तकोशी नदीको जल सतह निरन्तर बढिरहेको छ। जल सतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएका छन्।
अपराह्न २ः१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन गरिएको छ। नदीको बहाव उच्च जोखिमको तहमा पुगेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार चतारा क्षेत्रमा सप्तकोशीको बाढी बढ्दो क्रममा रहेको छ। महाशाखाले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
नदीको जल सतह अझै बढ्न सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक तयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।
