• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बाह्यग्रहबाट पहिलोपटक प्रत्यक्ष रेडियो सङ्केत फेला


  • धनकुटा खबर
  • .

न्युयोर्क । खगोलविद्हरूले सौर्यमण्डल बाहिर रहेको एक विशाल ग्यास ग्रहबाट पहिलोपटक प्रत्यक्ष रूपमा रेडियो सङ्केत प्राप्त गरेका छन्।

पृथ्वीबाट करिब ६४ प्रकाश वर्ष टाढा रहेको ‘बिटा पिक्टोरिस बी’ (β Pictoris b) नाम दिइएको उक्त ग्रहबाट रेडियो तरङ्ग आइरहेको वैज्ञानिकहरूले पत्ता लगाएका हुन्।

यसअघि बाह्यग्रह प्रणालीहरूबाट रेडियो सङ्केत फेला परे पनि ती सङ्केत ताराबाट आएका हुन् वा ग्रहबाट भन्ने छुट्टिन सकेको थिएन। यो सङ्केत कुनै परग्रहवासी (एलियन) ले पठाएको नभई ग्रहको शक्तिशाली चुम्बकीय क्षेत्र र वायुमण्डलको अन्तरक्रियाबाट उत्पन्न हुने ‘ओरोरा’ (प्रकाशपुञ्ज) का कारण बनेको रेडियो तरङ्ग भएको स्पष्ट पारिएको छ। उच्च-ऊर्जा भएका कणहरू ग्रहको चुम्बकीय क्षेत्रको रेखा हुँदै वायुमण्डलमा प्रवेश गर्दा यस्तो प्रक्रिया हुने गर्छ।

हार्वर्ड एन्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका केभिन ओर्टिज सेबालोसको नेतृत्वमा रहेको वैज्ञानिक टोलीले दक्षिण अफ्रिकाको ‘मिरक्याट’ (MeerKAT) रेडियो टेलिस्कोप प्रयोग गरी यो खोज गरेको हो। टोलीले प्रारम्भमा बिटा पिक्टोरिस प्रणालीबाट दोहोरिएर आएका कमजोर रेडियो सङ्केत प्राप्त गरेको थियो।

सङ्केतको सही स्रोत पत्ता लगाउन अनुसन्धानकर्ताहरूले रेडियो तस्बिरहरूलाई टाढा रहेका ‘क्वासार’ को निश्चित अवस्थितिसँग तुलना गरेका थिए। यस विधिबाट तारा र ग्रहको सटीक स्थान रेखाङ्कन गर्दा उक्त रेडियो सङ्केत मातृ ताराबाट नभई ग्रह बिटा पिक्टोरिस बी बाटै आएको पुष्टि भयो।

प्राप्त रेडियो सङ्केतले उक्त ग्रहको भौतिक अवस्थाबारे समेत महत्त्वपूर्ण जानकारी दिएको छ। वैज्ञानिकहरूको गणनाअनुसार बिटा पिक्टोरिस बी को रेडियो तरङ्ग उत्पन्न हुने क्षेत्रमा चुम्बकीय क्षेत्रको शक्ति कम्तीमा १,२५० गौस (gauss) रहेको छ, जुन बृहस्पति ग्रहको चुम्बकीय क्षेत्रभन्दा धेरै गुणा शक्तिशाली मानिन्छ।

कुनै पनि बाह्यग्रहको चुम्बकीय क्षेत्रको शक्ति प्रत्यक्ष मापन गरिएको यो पहिलो घटना हो। यस खोजले बाह्यग्रहहरूको चुम्बकीय क्षेत्र र तिनको आन्तरिक बनावट अध्ययन गर्न वैज्ञानिकहरूका लागि नयाँ बाटो खोलेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖