• Sunday 4th of October 2026

लालबकैया नदीमा हाम फालेका युवक २० घण्टादेखि बेपत्ता, गोताखोर सहित प्रहरी परिचालन


  • धनकुटा खबर
  • .

रौतहट, १० असोज । रौतहटको लालबकैया नदीमा हाम फालेका बाराका एक युवक २० घण्टा बितिसक्दा पनि फेला परेका छैनन्। उनको खोजीका लागि गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नदीमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो १ बजे मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेपछि बेपत्ता भएका हुन्।

यादव आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा पछाडि बसेर उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए। पुलमा पुगेपछि मोटरसाइकलबाट ओर्लिएर उनी अचानक नदीमा हाम फालेको डीएसपी गौतमले बताए। प्रहरीका अनुसार यादव मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मौलापुरबाट इन्स्पेक्टर भरत केसीको कमान्डमा १७ जना प्रहरी खोजीमा खटिएका छन्। सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट इन्स्पेक्टर दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित ७ जनाको टोली पनि खोजीमा परिचालन गरिएको छ।

२४ जनाको संयुक्त टोलीले नदीमा खोजी गरिरहे पनि शनिबार बिहान पौने १० बजेसम्म यादवको अवस्था पत्ता लाग्न नसकेको डीएसपी गौतमले जानकारी दिए।

नदीमा पानीको बहाव र गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब ३ किलोमिटर पूर्वमा पर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖