पोखरा । अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्से क्षेत्रमा २० भन्दा बढी घर बगाएको छ।
वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीले हालसम्म २० देखि २५ वटा घर बगाइसकेको छ भने बाढीको रफ्तार अझै बढिरहेको छ। उनका अनुसार बाढीको अवस्था हेर्दा थप सयभन्दा बढी घर जोखिममा छन्।
‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो। सयभन्दा बढी घर बगाउने अवस्थामा छ,’ जिसीले भने, ‘ठुलो क्षति भएको छ।’
कालीगण्डकीको बाढी बस्ती क्षेत्रतर्फ समेत पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए। बाढीको अवस्था नियन्त्रणबाहिर रहेकाले तत्काल मानिसलाई सुरक्षित गर्नुबाहेक अन्य विकल्प नरहेको उनको भनाइ छ।
बाढीले घरहरूसँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरूमा समेत क्षति पुर्याएको छ। बाढीले बस्तीमा पानी पस्नुका साथै भौतिक संरचनाहरू नै बगाएर लगेको वडाध्यक्ष जिसीले बताए।
ठुलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति भए पनि हालसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
उनका अनुसार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ‘सबैलाई सुरक्षित ठाउँमा सारेका छौँ। मान्छेलाई समस्या छैन,’ उनले भने।
