पोखरा । लगातारको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ फेरि डुबानमा परेको छ।
२०७८ सालको बाढीले क्षतिग्रस्त भएको तालगाउँको पुनःनिर्माण केही समयअघि मात्रै सम्पन्न भएको थियो। तर, अहिले मर्स्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ फेरि जलमग्न भएको स्थानीय अगुवा राजन गुरुङले जानकारी दिए।
उनका अनुसार नदीको बहाव डाँडामा थुनिएपछि तालगाउँ डुबानमा परेको हो। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गाउँ चारैतिरबाट घेरिएपछि स्थानीयवासी गाउँमै थुनिएका छन्। उनीहरू सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसेका छन्।
बाढीका कारण विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ भने जिल्लामा टेलिफोन सम्पर्कसमेत प्रभावित भएको बताइएको छ। स्थानीयसँग सम्पर्क हुन नसक्दा तालगाउँभन्दा माथिल्लो क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भएको छ।
यसैबीच, मर्स्याङ्दी नदीको बहाव अझै बढिरहेको र नदीको प्राकृतिक बहावमा समेत अवरोध देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
