बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले टप मझुवा क्षेत्रमा बाढीले ६ वटा घर बगाएको जानकारी दिए।
लगातारको वर्षाका कारण तिनाउ नदी तथा आसपासका खोलामा जलस्तर बढेपछि बुटवलका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको थियो।
बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
बाढीका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
