काठमाडौँ । नागढुंगा सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ।
सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाएको भन्दै बा.प्र.०१–००६ ख ८८८० र बा.प्र.०१–००७ ख १७९४ नम्बरका माइक्रोबसलाई कारबाही गरिएको हो।
कार्यालयका अनुसार सुरुङमार्गभित्र ओभरटेक गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकले ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ।
कारबाहीमा पर्ने चालक बलराम सिवाकोटी र बालकृष्ण श्रेष्ठलाई जनही ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सुरुङमार्गमा निर्धारित गति, लेन अनुशासनलगायतका ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।
सुरुङमार्गभित्र जथाभावी ओभरटेक नगर्न र सम्भावित दुर्घटनाबाट बच्नसमेत चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ।
