सर्लाही । चिनजान तथा नाता सम्बन्धका आधारमा विश्वासमा पारी WhatsApp मार्फत अश्लील भिडियो तथा तस्बिर तयार गरी ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले सर्लाहीका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका–३ का शिव चरण मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुखियाले एक महिलासँग पटक–पटक भिडियो कलमार्फत अश्लील संवाद गरेको र विभिन्न दबाब तथा धम्की दिई उनलाई शरीरको लुगा हटाउन बाध्य बनाएको आरोप छ। सो क्रममा भिडियो रेकर्ड गरी अश्लील तस्बिर तथा भिडियो आफ्नो मोबाइलमा सुरक्षित राखेको र ती सामग्री पीडित महिला तथा उनका आफन्तलाई पठाएको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
जाहेरीअनुसार मुखियाले उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने तथा पीडितका परिवार र आफन्तलाई पठाइदिने धम्की दिँदै ५० हजार रुपैयाँ माग गरेको आरोपसमेत छ।
मुखियालाई विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको प्रहरी हिरासतमा राख्ने अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले निजी वा अश्लील तस्बिर तथा भिडियो प्राप्त भएमा शेयर, फर्वार्ड, लाइक वा सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ। यस्ता सामग्री तथा धम्कीसम्बन्धी म्यासेज, च्याट, फोन नम्बर, कल विवरण, तस्बिर, भिडियो र अन्य डिजिटल प्रमाण सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ।
