• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

लिखु कांग्रेस सभापति पाठकले पार्टी छाडे, सामाजिक क्षेत्रमा सक्रिय रहने घोषणा


  • धनकुटा खबर
  • .

नुवाकोट । लिखु गाउँपालिका कांग्रेसका सभापति पाठकले पार्टीको राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।

लिखु गाउँपालिका कांग्रेसको अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने क्षेत्रीय अधिवेशन प्रतिनिधि, निर्वाचन अधिकृतलगायत सबैलाई धन्यवाद दिँदै पाठकले नवनिर्वाचित सभापति धनञ्जय उप्रेतीसहित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन्।

उनले आफ्नो पाँच वर्षे कार्यकालमा सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आफ्ना समर्थक तथा शुभेच्छुकलाई निराश बनाएको भए क्षमायाचना गरेका छन्।

पाठकले आफूले कांग्रेसको राजनीतिबाट अलग हुने निर्णय गरेको भए पनि तत्काल कुनै अर्को दलमा प्रवेश गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन्। बरु राजनीतिक जीवनबाट अलग रहेर सामाजिक क्षेत्रमा सक्रिय रहने संकेत गरेका छन्।

उनले समाजमा हुने बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै लिखुवासीको आर्थिक तथा सामाजिक रूपान्तरणका विषयमा निरन्तर बहस र अभियानमा जोडिइरहने बताएका छन्।

पाठक २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लिखु गाउँपालिका अधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।

पछिल्लो समय नुवाकोटमा पुराना राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी छाडेर स्वतन्त्र रूपमा सामाजिक गतिविधिमा लाग्ने क्रम देखिन थालेको छ। लिखु कांग्रेसका सभापति पाठकले समेत पार्टी छाड्ने घोषणा गरेपछि यसको प्रभाव र स्थानीय राजनीतिको आगामी दिशाबारे चर्चा सुरु भएको छ।

पाठकले आफू दलगत राजनीतिबाट अलग भए पनि समाजबाट अलग नहुने स्पष्ट पारेका छन्। लिखुवासीका आर्थिक, सामाजिक तथा स्थानीय सरोकारका विषयमा आफ्नो भूमिका निरन्तर रहने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖