बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान करिब १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा सुर्मा गाउँपालिका–४ का अन्दाजी २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
जिपमा चालकसहित तीन जना सवार थिए। घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
