काठमाडौँ । नेपाली कांग्रेसका ४ केन्द्रीय सदस्य र राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
कांग्रेसको आइतबारदेखि सुरु हुन लागेको १५ औँ महाधिवेशनअन्तर्गत भएका प्रतिनिधि सभा क्षेत्रका निर्वाचनमा उनीहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
कांग्रेसले यो पटक विधान संशोधन गरेर केन्द्रीय सदस्य र सांसदलाई पनि तल्लो तहबाटै प्रतिस्पर्धा गरेर महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरेको थियो ।
त्यही व्यवस्था अन्तर्गत केन्द्रीय सदस्यहरू उमेशजंग रायमाझी, गंगा सुनार, शारदादेवी कोइराला र रामबहादुर कार्की उनीहरूको निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
रायमाझीले उनको गृह जिल्ला भोजपुरमा खुला १० जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए । तर, ११ औँ नम्बरमा परेर पराजित भए । उनले ४१६ मत पाएका थिए । कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा निकट रायमाझी असोज १ गते मात्रै गगन थापाको पक्षमा देखिएका थिए।
तेह्रथुममा महिला कोटातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी केन्द्रीय सदस्य कोइराला पनि पराजित भएकी छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी कोइरालाले ४१० मत मात्र प्राप्त गरिन्। कुल ९८० मत खसेको निर्वाचनमा चार जना महिला प्रतिनिधिको प्रतिस्पर्धामा उनी पाँचौँ स्थानमा सीमित भएकी हुन्।
सो कोटाबाट जमुना मगर कार्की ५०८ मत ल्याएर पहिलो भइन् भने गीता देवी तिम्सिना गौतम (४८८), तारा सुब्बा लिम्बू (४५५) र सनिसा भेटुवाल (४४०) निर्वाचित भएका छन्।
अर्की केन्द्रीय सदस्य गंगा सुनार काठमाडौँ क्षेत्र नम्बर ५ बाट बुधबार महाधिवेशन प्रतिनिधिमा पराजित भइन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित कलस्टरमा उम्मेदवार बनेकी केन्द्रीय सदस्य सुनारलाई बुढानीलकण्ठ नगरपालिका ६ की वडा सदस्य मेनुका भुसालसँग पराजित भएकी हुन्।
सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जितेका भैरव सापकोटाले केन्द्रीय सदस्य सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएको जानकारी दिए।
अर्का केन्द्रीय सदस्य कार्की रुपन्देही क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भए । रूपन्देही क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका कार्की पराजित भएका हुन् ।
कार्कीले जम्मा २०८ मत मात्र प्राप्त गरे । १० जना छानिने खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा २६३ मत ल्याउनेसम्म निर्वाचित भएका थिए । तर कार्कीले २०८ मात्रै मत प्राप्त गरे ।
कार्की गत पुसमा भएको विशेष महाधिवेशनमा लुम्बिनी प्रदेशका तर्फबाट केन्द्रीय सदस्य चयन भएका थिए । उनी बिहीबार राति आएको परिणाममा पराजित भएका हुन् ।
राष्ट्रिय सभा सदस्य तथा कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियार नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
उनले तनहुँ १ बाट दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए । परियारले निर्वाचनमा आफूलाई समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। परियारले कुनै गुट वा उपगुटलाई प्राथमिकता नदिई लोकतान्त्रिक विधि र पद्धतिअनुसार आफू निर्वाचनमा सहभागी भएको बताएका छन्।
निर्वाचनमा आफूलाई मत तथा समर्थन गर्ने क्षेत्रीय प्रतिनिधिहरूलाई धन्यवाद दिँदै उनले प्राप्त नतिजाले आफू र आफ्ना समर्थकलाई विचलित नबनाउने उल्लेख गरेका छन्।
उनले आफूहरू आगामी दिनमा पनि नेपाली कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाको राजनीतिमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
