काठमाडौं । बलिउड सुपरस्टार सलमान खानसँग अनुहार, हेयरस्टाइलदेखि शारीरिक बनोटसम्म मिल्ने एक युवा अहिले भारतीय सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छन् । उनी अरू कोही नभएर चर्चित फिल्म निर्माता साजिद नाडियाडवाला र उनकी पत्नी वर्धा खान नाडियाडवालाका कान्छा छोरा सुफयान हुन् ।
सुफयानको पछिल्लो तस्वीर र भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सलमान खानको ‘युवा रूप’ भन्न थालेका छन् । कतिपयले त सलमान खानतिरै शंकाको नजरले पनि हेर्न थालेका छन् । अनुहारको नक्शादेखि हेयरस्टाइल, शरीरको बनोट र समग्र हाउभाउ युवा सलमानसँग मिल्नु संयोगमात्रै हो भन्ने मान्न उनीहरू तयार छैनन् ।
सुफयान र सलमानबीचको समानताको चर्चा यसपटक मात्र भएको होइन । अप्रिल २०२६ मै सुफयानको एउटा भिडियो भाइरल भएको थियो । त्यतिबेला पनि सामाजिक सञ्जालमा उनलाई ‘९० को दशकका सलमान खान’ र ‘सलमानको यंगर भर्सन’ भन्दै तुलना गरिएको थियो ।
सलमानकै अगाडि परे सुफयान
अहिलेको चर्चा भने अझ रोचक बनेको छ । सुफयान हालै मुम्बईमा आयोजित ‘प्रेम कीटाणु’ को स्क्रिनिङमा आफ्ना बुबा साजिद र आमा वर्धासँग पुगेका थिए । त्यहाँ उनको भेट स्वयं सलमान खानसँग भयो ।
सलमान र सुफयान एकै ठाउँमा देखिएपछि सामाजिक सञ्जालमा चलिरहेको ‘सलमानसँग मिल्ने अनुहार’ को चर्चा झन् चर्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यसो त केही प्रयोगकर्ताले सुफयानको अनुहार उनका पिता साजिद नाडियाडवालासँग बढी मिल्ने पनि बताएका छन् । केहीले उनलाई अभिनेता विजय वर्मा तथा हलिउड अभिनेता टम हल्यान्डसँग समेत तुलना गरेका छन् ।
को हुन् सुफयान ?
सुफयान बलिउडमा कुनै नयाँ परिवारका सदस्य होइनन् । उनका पिता साजिद नाडियाडवाला बलिउडका स्थापित निर्माता हुन् । ‘हाउसफुल’, ‘बागी’, ‘किक’ लगायतका चर्चित फिल्मसँग उनको नाम जोडिएको छ ।
सुफयानका दाजु सुभान नाडियाडवाला भने अभिनयमा प्रवेश गर्ने तयारीमा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुभान शशांक खेतानले निर्देशन गर्ने भनिएको ‘ऐसी दीवानगी’ मार्फत बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । सुफयानले भने तत्काल फिल्म क्षेत्रमा प्रवेश गर्ने योजना नरहेको बताइएको छ ।
अर्थात् अहिले सुफयानको चर्चा कुनै फिल्म, अभिनय वा स्टारडमका कारण होइन-उनको अनुहार सलमान खानसँग असाध्यै मिलेको कारण हो ।
सलमान–साजिदको सम्बन्ध
सुफयान र सलमानको अनुहार मिल्नुको चर्चा यति चाखलाग्दो बन्नुको अर्को कारण उनीहरूको पारिवारिक निकटता हो । सुफयानका पिता साजिद नाडियाडवाला र सलमान खानबीच दशकौँ पुरानो मित्रता छ । उनीहरू सन् १९९० को दशकदेखि नै निकट छन् ।
साजिदले आफ्नी पत्नी वर्धासँग विवाह गर्दा निम्त्याएका सीमित अभिनेता पाहुनामध्ये सलमान पनि थिए । सलमानले एकपटक साजिदलाई आफ्ना दाजुभाइसरह परिवारको सदस्य मानेको बताएका थिए । उनले साजिदसँग आफूले आफ्नै दाजुभाइभन्दा पनि बढी फिल्ममा काम गरेको उल्लेख गरेका थिए ।
साजिद स्वयंले पनि सलमानसँगको सम्बन्धलाई सामान्य फिल्मी मित्रताभन्दा माथिको रूपमा व्याख्या गरेका छन् । एउटा पुरानो अन्तर्वार्तामा उनले सलमानलाई आफूले ‘छोरा’ भन्ने र सलमानले आफूलाई ‘नाति’ भन्ने गरेको बताएका थिए । सलमान खानका अत्यन्तै नजिकका साथी साजिद नाडियाडवालाका छोरा नै सलमानजस्तै देखिएपछि बलिउडका फ्यानहरू चकित भएका छन् ।
