काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने भएको छ।
शनिबार खनालको नेतृत्वमा भएको भेलाले ठूला वामपन्थी पार्टीहरूमा वैचारिक बहस र राजनीतिक प्रशिक्षण कमजोर हुँदै गएको निष्कर्ष निकाल्दै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
वामपन्थी नेता महेश्वर दाहालका अनुसार भेलाले समसामयिक राजनीतिक तथा वैचारिक विषयसँग सम्बन्धित विभिन्न प्रस्ताव पारित गरेको छ। अभियानमार्फत वामपन्थी आन्दोलनलाई राजनीतिक तथा वैचारिक रूपमा नयाँ ढंगले पुनर्गठन गर्ने उद्देश्य राखिएको उनले बताए।
भेलामा नेकपा, एमाले, पूर्वएकीकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न वामपन्थी दलका ७० भन्दा बढी नेता सहभागी भएको बताइएको छ। खनालसहित हरिबोल गजुरेल, कुलप्रसाद केसी, महेश्वर दाहाल, पानीराज बम्जन र क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीलगायत नेताहरू सहभागी भएको जनाइएको छ।
खनालले समाजवादी जागरण अभियान कुनै पार्टी तोड्ने उद्देश्यले नभई वामपन्थी शक्तिलाई जोड्ने र बृहत् वामपन्थी एकताका लागि आधार तयार गर्ने अभियान भएको बताएका छन्।
अभियानको उद्देश्य, आगामी कार्यक्रम र भेलामा सहभागी नेताहरूको विवरणबारे सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराइने दाहालले बताए।
